नियम १४
राष्ट्रियताको अस्थायी प्रमाणपत्र प्राप्त गर्नुपर्ने
(१) ऐनको दफा १६ को उप–दफा (१) को खण्ड
(क) बमोजिम अवस्थामा नेपाली राष्ट्रियताको अस्थायी प्रमाणपत्रको लागि दरखास्त गर्न पाउने
व्यक्तिले सबैभन्दा नजिकको नेपाली वाणिज्य दूतावास वा कूटनैतिक कार्यालयमा
अनुसूची–६ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्छ ।
(२) उप–नियम (१) बमोजिम दिइने दरखास्तको साथमा पचास रुपैयाँ वा सो बराबर
मूल्यको स्थानीय मुद्रा दाखिल गर्नुपर्छ ।
(३) उप–नियम (१) बमोजिम दिएको दरखास्तमा लेखिएको व्यहोरा ठीक ठहरे सम्बन्धित
वाणिज्य दूतावास वा कूटनैतिक कार्यालयले त्यस्तो पानी जहाजलाई अनुसूची–७
बमोजिमको नेपाली राष्ट्रियताको अस्थायी प्रमाणपत्र प्रदान गर्नेछ ।
(४) उप–नियम (३) बमोजिम राष्ट्रियताको अस्थायी प्रमाणपत्र प्रदान गर्ने
नेपाली वाणिज्य दूतावास वा कूटनैतिक कार्यालयले त्यस्तो प्रमाण पत्र प्रदान गरेको सूचना
यथाशीघ्र कार्यालयलाई दिनुपर्छ ।